Koshi Province, Nepal
२३ वैशाख २०८१, आइतवार
राजनीति

२२ बुँदे प्रस्ताव पारित गर्दै एमाले बैठक सम्पन्न

१० फागुन २०८०, बिहिवार 29

काठमाडौँ । विभिन्न २२ बुँदे प्रस्ताव पारित गर्दै नेकपा एमालेको सातौँ केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । बैठकले गठबन्धन सरकार र गलत प्रवृत्तिका पात्रका राष्ट्रिय हितमा आघात पुर्‍याएको निष्कर्ष निकालेको छ ।


एमाले बैठकले पारित गरेका प्रस्तावमा गठबन्धन सरकारको कुशासन, राज्य सञ्चालनमा रहेको बेथिति र गैरजिम्मेवार क्रियाकलापका कारण समाजका प्रत्येक अवयवहरु संकटग्रस्त बन्दै गएको उल्लेख छ ।


‘मुलुक तस्करी र भ्रष्टाचारको गहिरो दलदलमा फस्दै गएको छ । सञ्चारमन्त्री टेरामक्स खरिद प्रक्रियाको अनियमिततामा मुछिएका छन् । बालकुमारी घटना छानबिन आयोगले दोषी देखाएका भौतिक पूर्वाधारमन्त्री निर्लज्जतापूर्वक झण्डा हल्लाएर हिँडिरहेका छन् । सरकारको भ्रष्टाचार नियन्त्रणको नारा स्टण्टबाजीमा परिणत भएको छ’, बैठकपछि एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


एमालेले गठबन्धनमा आबद्ध भएकै कारण ललिता निवास काण्डका मुख्य निर्णयकर्ताहरूलाई उन्मुक्ति दिइएको उल्लेख गरेको छ । साथै  सुन तस्करीमा मुछिएका आफ्नो पार्टीका नेतालाई सफाइ दिइएको पनि एमाले आरोप छ ।


‘विभिन्न काण्डहरूको छानबिनमा व्यवसायीहरूपिच्छे दोहोरो मापदण्ड अपनाइएको छ र आफ्ना मान्छेहरूलाई अपराधबाट उन्मुक्ति दिन न्यायालयलाई प्रभावित र महान्यायाधिवक्ता कार्यालयको दुरुपयोग गरिएको छ, एमालेले भनेको छ । 


गठबन्धनका मान्छे मुछिएका मुद्दाहरूमा पक्षपातपूर्ण न्याय निरूपण आमविषय बनेको भन्दै एमालेले सरकारकै संरक्षणमा तस्करी र अवैध कारोबारीहरूमार्फत् समानान्तर अर्थतन्त्र चलाइएका कारण राजस्व सङ्कलन निरन्तर घटिरहेको र अन्तर्राष्ट्रिय संस्थाहरूको दृष्टिमा नेपालको विश्वसनीयता र साख खस्किँदै गएको दाबी गरेको छ । ‘यो बैठक तस्करी र भ्रष्टाचारलाई संरक्षण गर्ने सरकार र शासन सञ्चालनमा उसको द्वैध चरित्रको विरोध गर्दछ । टेरामक्स काण्डमा मुछिएका, बालकुमारी घटनामा दोषी देखिएका र विभिन्न विवादमा मुछिएका मन्त्रीहरूलाई तत्काल बर्खास्त गर्न माग गर्दछ’, एमालेको पारित प्रस्तावमा भनिएको छ । 

बालकुमारी घटनामा प्रहरीद्वारा अन्धाधुन्ध बल प्रयोग भएका कारण दुई र सर्लाहीको बरहथवामा एक युवाको अनाहकमा ज्यान गएको भन्दै एमालेले दुवै घटनाप्रति खेद व्यक्त गर्दै दोषीहरूलाई कारबाही मृतकहरूका परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ ।

Copyright © 2023 -2024. News Portal. All Rights Reserved